होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, एक युवकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, १० : ५७
होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, एक युवकको मृत्यु

धनुषा । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् ।

प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए ।