शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०८१, १२ : ०२
शिक्षकका मागलाई  शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको  भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताएका हुन् ।

‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको  समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ । साथ उनले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट माओवादी केन्द्रले सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षक महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराउने काम प्रचण्ड नेतृत्वको सरकारले गरेको स्मरण गराउँदै विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने विश्वास व्यक्त गरे।

'डू एन्ड डाइको अवस्थामा छौं,' शिक्षक महासंघका प्रतिनिधिहरूले भने, 'विगतमा पनि शिक्षकका मागमा माओवादी र अध्यक्ष प्रचण्ड दृढ भएर उभिनुभयो। यसपटक पनि काँध थाप्न अनुरोध छ। माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस्।'

प्रतिक्रिया दिनुहोस