ऐतिहासिक गणेशस्थान मन्दिरको स्तरोन्नति गर्न महायज्ञ लगाईने

सोमबार, १९ कार्तिक २०७५, १६ : १२
ऐतिहासिक गणेशस्थान मन्दिरको स्तरोन्नति गर्न महायज्ञ लगाईने

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ ।
गणेश धाम निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्दु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ ।

मन्दिरक्षेत्रको सम्वद्र्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिनुभयो । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माण गरेर काम सुरु गरिने चुकेले जानकारी दिनुभयो । डीपीआर निर्माण अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । साना–साना योजनाले मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको उहाँले बताउनु भयो । गणेशधाम निर्माणका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्ने चुकेको भनाइ छ । डीपीआर अनुसारको काम सम्पन्न गर्नका लागि करिब ८० करोड लाग्ने अनुमान गरिएको चुकेले बताउनुभयो । उहाँले महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ती, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रकम बिनियोजन गरेको छ । चितवन क्षेत्र नम्बर २ का प्रदेश सांसद विजय सुवेदीले गणेशधाम चितवनको प्रतिष्ठासँग जोडिएकाले केही वर्ष्भित्रै निर्माण सम्पन्न गरिने बताउनु भयो । उहाँले गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने दाबी गर्नुभयो । धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना अघि बढाइएको सुवेदीले बताउनुभयो ।

गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो एतिहासिक तथा धार्मिक स्थल भएको धनधान्याञ्चल ज्ञान महायज्ञ अयोजक समितिका महासचिव रबिन्द्र बरालले दाबी गर्नुभयो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत रहेकोले तत्कालिन अवस्था देखिनै धार्मिक थलोको रुपमा गणेशस्थान स्थापित भएको बरालको भनाइ छ । गणेस्थानमा वैवाहिक कार्यका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरु आउने गरेको बरालले बताउनुभयो ।
गणेशस्थान मन्दिर क्षेत्रको जमिने २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक बन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यसको विस्तार गर्ने योजना अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस