बाबुको शव देऊ– खशोग्जीका छोराहरु

एजेन्सी

सोमबार, १९ कार्तिक २०७५, १४ : ०५
बाबुको शव देऊ– खशोग्जीका छोराहरु

वासिङ्टन । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले खशोग्जीको शवको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न साउदी सरकारसँग यस्तो आग्रह गरेका हुन् । 

खशोग्जीलाई टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको महाबाणिज्यदूतावासमा अक्टोबर २ तारिखका दिन साउदी सुरक्षाकर्मीको एक टोलीले हत्या गरेको थियो । टर्कीका राष्ट्रपतिले उक्त हत्या साउदी अरेबिया सरकारको उच्च नेतृत्वको आदेशपछि भएको दाबी गर्दै आउनुभएको छ । 

सिएनएनसँग वासिङ्टनमा कुरा गर्दै अब्दुल्लाह खशोग्जी र उनका भाइ सलाहले बाबुको शरीर साउदी अरेबियाको मदिनास्थित अल–बाकीमा दाहसंस्कार गर्नेगरी साउदी सरकारसँग आग्रह गरिएको बताउनुभयो । 

टर्कीका सरकारी वकीलहरुले जमाल खशोग्जीलाई महाबाणिज्यदूतावासमा प्रवेश गरेलगत्तै हत्या गरिएको बताउनुभएको छ । उहाँले खशोग्जीको शरीर टुक्राटुक्रा पारेको समेत बताउनुभयो । 

टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोआनका सल्लाहकार यासिन आक्टेले शुक्रबार एक लेख प्रकाशित गरी जमाल खशोग्जीको हत्या पश्चात शवलाई तेजाबमा डुबाइएको हुन सक्ने बताउनुभएको छ । 

खशोग्जीको हत्याको संयुक्तराज्य अमेरिका समेत विश्वभरबाट निन्दा र भत्र्सना गरिएको छ । खशोग्जीका छोराहरुले बाबुले गरेका कार्यहरुलाई राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएको आशंका समेत व्यक्त गरेका छन् । 

सलाहले सिएनएनसँग भन्नुभयो, “मलाई जमालका बारेमा अति राजनीतिकरण हुन थालेको अनुभव भइरहेको छ । जमाल कहिल्यै साउदी सत्ताको विद्रोही हुनुहुन्थेन । उहाँको अटल विश्वास राजतन्त्रप्रति थियो ।” 

अब्दुल्लाहले बुबाको हत्याका बारेमा स्पष्ट जानकारी र सूचना प्राप्त नभएको बताउनुभयो । उहाँले प्राप्त जानकारीहरु भ्रमित गर्ने किसिमका रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य परिस्थिति होइन र उहाँको मृत्यु सामान्य पक्कै होइन ।” 

सलाहले जोड दिँदै भन्नुभयो, साउदी राजाले दोषीहरु सबैलाई कानुनको कठघरामा उभ्याउने बताउनुभएको छ । मलाई राजाको वचनप्रति विश्वास छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस