संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ: नेता सिटौला

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १९ : ५७
संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ: नेता सिटौला

ललितपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा आवश्यक भइसकेको बताएका छन् । राष्ट्रिय सभाका सांसदसमेत रहेका सिटौलाले संविधान संशोधनको बहस चर्चामा आइरहँदा संशोधन अघि समीक्षा आवश्यक पर्ने धारणा राखे ।

संसदीय मामिला पत्रकार समाजद्वारा ‘संघीयता सुदृढीकरण र समावेशी कानुन निर्माणमा राष्ट्रिय सभाको भूमिका’ विषयक दुई दिने अन्तरक्रियाअन्तर्गत शुक्रबारको कार्यक्रममा नेता सिटौलाले सबै राजनीतिक दलबीच संशोधनका लागि साझा मुद्दा तयार गर्नुअघि अहिलेसम्म संविधान कार्यान्वयनको अवस्थाका विषयमा समीक्षा गर्नुपर्ने बताए ।  

“साझा नजरले हेर्दा पनि संशोधन आवश्यक भइसकेको छ । संशोधनका लागि साझा ‘एजेन्डा’ पनि तयार गर्न सकिन्छ । साझा एजेन्डा तयार गरेर संशोधन विधेयक प्रस्तुत गर्ने समयमा बहुमत (दुई तिहाइ) पुग्नुपर्छ । त्यो पुग्न पनि अहिलेसम्म संविधान कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा हुनु आवश्यक छ”, उनले भने, “संविधान संशोधन पार्टीका लागि हैन जनताका लागि हुनुपर्छ ।”

सबै राजनीतिक दलको सहमति र समन्वयमा समीक्षा गरी सोका आधारमा राज्य सञ्चालन प्रणालीमा देखिएका कमीकमजोरी सच्याउन सकिने सांसद सिटौलाले धारणा राखे । साथै जहाँ संविधानले जनताको हितमा काम गर्न बाधा गरेको छ, त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस