झापाको घटनाप्रति क्षमा चाहन्छु : नारायणकाजी श्रेष्ठ

मलाई बोल्न अवरोध गर्न खोजियो

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १२ : २५
झापाको घटनाप्रति क्षमा चाहन्छु : नारायणकाजी श्रेष्ठ

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् । 

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए । 

उक्त घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए । त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए । 

उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस