झा र निलम्बित सचिव पाण्डेको मुद्दा सुनुवाइ गर्दै सर्वोच्च

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०८१, १२ : ४०
झा र निलम्बित सचिव पाण्डेको मुद्दा सुनुवाइ गर्दै सर्वोच्च

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरूलाई अमेरिका लैजान भन्दै ठगी गरेको अभियोगमा अदालतको आदेशले थुनामा रहेका दुई प्रतिवादीहरू वेचन झा र टेकनारायण पाण्डेको  मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ। निलम्बित सचिव पाण्डेको मुद्दा एकल इजलासमा र   झाको मुद्दा संयुक्त इजलासमा पेसी रहेको छ।

जिल्ला अदालत काठमाडौँको आदेशले थुनामा रहेका दुवै जनाको मुद्दा अलग अलग न्यायाधीशको इजलासमा पेसी तोकिएको थियो । पाण्डेको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी रहेको छ।

त्यस्तै झाको मुद्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र  न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ । यसअघि पाण्डेको मुद्दा हेर्न नभ्याउने भएको थियो भने झाको मुद्दामा फाइल मगाउने आदेश गरेको थियो ।

पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । उनको रिटमा पहिलो सुनुवाइ हुँदैछ । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए ।

पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् ।  उनी पहिलो अभियोगपत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोगपत्रमा पूर्वमन्त्रीद्धय बालकृष्ण खाड, टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो । 

बेचन झा भने पूरक अभियोगपत्रवाट यो प्रकरणमा जोडिएका हुन् । पहिलो अभियोगपत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । भारतबाट पक्राउ गरि ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र दर्ता गराएको थियो । उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

त्यसविरुद्ध झा शुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते  सर्वोच्च अदालत पुगेका थिए ।  झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको थियो । 

उच्च अदालत पाटनले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस २ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।  उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो ।

उनीहरू एकै पटक जिल्लामा पेस भएकाले उच्चमा पनि सँगै पुगेका थिए उच्चले पनि जिल्लाकै आदेश  सदर गरेपछि झा सर्वोच्च पुगेका हुन् । थापा पनि सर्वोच्च जाने तयारीमा छन् ।  उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले  पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते  जिल्ला अदालत काठमाडौँले थुनामा  पठाउने आदेश  गरेको थियो ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काँग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस