काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९, टायलघर (व्यावसायिक प्रतिनिधि सञ्जीव खत्री)मा व्यावसायिक प्रतिनिधिमार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ । शाखारहित बैंकिङ सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारिहत बैंकिङ सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए।
बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानीय स्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको ।
व्यावसायिक प्रतिनिधि मार्फत ग्राहकले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाताबाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैंकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवालगायतका बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको छ ।शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्त्वपूर्ण औजारको रुपमा स्थापित रहँदै आएको छ ।
हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ सेवा केन्द्र, ६५ वटा एक्स्टेन्सन काउण्टर र २६५ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले भविष्यमा औपचारिक बैंकिङ सेवाबाट बन्चित देशका विभिन्न ग्रामीण भेगका ग्राहकवर्गकरूलाई लक्षित गरी आफ्ना सेवा केन्द्रहरू विस्तार गर्दै जाने योजना रहेको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १३ : ०२
लेखकबाट थप