इटहरीको शंकास्पद वस्तु निष्कृय

सफल खबर संवाददाता

मंगलबार, १६ पुस २०८१, ११ : ०८
इटहरीको शंकास्पद वस्तु निष्कृय

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडिसहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो । उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । प्रहरीका अनुसार कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको थियो ।

राजावादी समूहको नाममा प्रहरीलाई गरिएको खबरमा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला परेन । उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको बताए ।

मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद भनिएको बोरामा पुराना कपडामात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस