नेपाल बैंकर्स संघको नेतृत्वमा कोइराला निर्विरोध, उपाध्यक्षमा रेग्मी

सफल खबर संवाददाता

बुधबार, ०३ पुस २०८१, १६ : ३२
नेपाल बैंकर्स संघको नेतृत्वमा कोइराला निर्विरोध, उपाध्यक्षमा रेग्मी

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित बनेका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए।

कोइरालासँगै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्षमा निर्विरोध चुनिएका छन् । रेग्मीले तीन महिनाअघि मात्रै बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका थिए ।

 

 

 

 

संघका तीन रिक्त सदस्य पदमा पनि निर्विरोध चयन भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पुनः दोस्रो कार्यकालका लागि सदस्यमा चयन भएका छन् ।

अन्य दुई सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन् ।

 

 

 

संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रुपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तिलकराज पाण्डे छन् ।

सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सीईओ अशोक राणा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस