काठमाडौँ । दुई ठुला सत्ता सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र बीआरआई सम्झौताबारे समीक्षा गर्न बैठक बोलाएका छन् ।
त्यसका लागि नेपाली कांग्रेसले मङ्सिर २४ गते सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा उपनिर्वाचन परिणाम र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे रहेका अन्योलबारे छलफल हुने कांग्रेसका नेताहरूको भनाइ छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहमतिमा कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् भने नेतृत्वले बीआरआई सहमतिप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको छ ।
त्यसैगरी नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । मङ्सिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।
दुई दलको बैठकमा उपचुनाव र बीआरआई सहमतिको समीक्षाबाहेक पार्टीका आन्तरिक मुद्दासहित सरकारबारे समेत छलफल हुने बुझिएको छ । कांग्रेस एमालेबाहेक प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि बैठक बोलाएका छन् ।
माओवादी केन्द्रले मङ्सिर २७ देखि २९ गतेसम्म बस्ने गरी बैठक बोलाएको छ । माओवादी बैठकको मुख्य एजेन्डा केन्द्रीय समिति बैठक र पार्टी एकता रहे पनि अन्य विषयमा समेत छलफल हुने नेताहरूको भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि स्थायी कमिटी बैठक बोलाएको छ । सो पार्टीले मङ्सिर २६ र २७ गते बस्नेगरी बैठक बोलाएको हो । बैठकले उपचुनावको समीक्षा, नेताहरूको कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।
दुई ठुला दल मिलेर बनेको वर्तमान सरकारले जनअपेक्षा अनुरुप कामहरू गर्न नसकेको गुनासो व्याप्त छ । यसबारेमा प्रधानमन्त्री स्वयं पनि सन्तुष्ट हुन सकेका छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल गरेर भए पनि सरकारका कामलाई प्रभावकारी बनाउने सोच बनाएको एमाले नेताहरूको भनाइ छ ।
‘सरकारका काम कारबाही प्रभावकारी भएको छैन भन्नेमा प्रधानमन्त्री पनि सहमत देखिनुहुन्छ । यस्तो अवस्थामा केही मन्त्रीहरू फेरबदल गर्नेसम्मको विकल्प रहेको छ तर त्यो विकल्पमा जान प्रमुख दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच छलफल हुनुपर्छ’, एमालेका एक नेता भन्छन्, ‘सम्भवतः यसबारेमा पहिला दुवै दलले आ–आफ्नो पार्टीमा पनि छलफल गर्लान् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने