राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना

एजेन्सी

आइतबार, २३ मंसिर २०८१, १२ : ३७
राजधानी दमास्कस प्रवेश गर्दै सिरियाली विद्रोही सेना

काठमाडौँ । विद्रोही समूहहरू सिरियाली सरकारविरुद्ध तीव्र गतिमा अघि बढिरहेका छन् । हामा र डेराको अधिकांश भाग कब्जा गरेपछि विद्रोही समूहहरूले देशको तेस्रो ठूलो सहर होम्स कब्जा गरेको दाबी गरेका छन् ।

इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले ऐतिहासिक क्षण भन्दै होम्स शहर कब्जा गरेको घोषणा गरेका छन् । यसअघि एचटीएएसको नेतृत्वमा अन्य चरमपन्थीहरूले हामा सहर कब्जा गरेका थिए ।

यसबाहेक विद्रोहीले जोर्डनको सीमा नजिकैको डेरा क्षेत्रको अधिकांश भाग कब्जा गरेको छ । यो त्यही ठाउँ हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल-असदविरुद्ध विद्रोहको जन्म भएको थियो ।

अब विद्रोही सेना राजधानी दमास्कसको नजिक पुगेको मिडिया रिपोर्टमा बताइएको छ । स्थानीयले विद्रोही सेना दमास्कसमा प्रवेश गरेको बताएका छन् ।  २०११ मा सुरु भएको विद्रोह पछि गृहयुद्धमा परिणत भयो। त्यसयता पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

नोभेम्बर २७ देखि राष्ट्रपति बसर अल-असदको विपक्षमा रहेका विद्रोहीहरूले एकपछि अर्को क्षेत्र कब्जा गर्न थालेका छन् । तिब्र गतिमा अगाडि बढ्दै उनीहरुले अब सिरियाको तेस्रो ठूलो सहरको नियन्त्रण दाबी गरेका छन् ।

 सिरियामा विद्रोही समूहहरू राजधानी दमास्कस कब्जा गर्न उत्तर र दक्षिणबाट  शहरमा प्रवेश गरेको बताइएको छ ।यसैबीच सिरियाली राष्ट्रपति बसर अल-असद पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा देखिएका छैनन् । उनको हालको ठेगाना अज्ञात रहेको छ । तर, राष्ट्रपति कार्यालयले उनले राजधानी छाडेको कुरा अस्वीकार गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको बिग्रँदै गएको अवस्थालाई लिएर अमेरिका यस युद्धबाट टाढा रहनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले यो आफ्नो हाम्रो लडाइँ नभएको उल्लेख गर्दै यसलाई उनीहरु आफै समाधान गर्न दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस