विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०८१, ०७ : ०१
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । 

विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् । 

खासगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा साताव्यापी यो पर्व मनाइन्छ । यो महोत्सव राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ । यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दा परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस