पुथा उत्तरगंगामा माओवादीविरुद्ध एमाले–कांग्रेस गठबन्धन

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०८१, ०८ : १३
पुथा उत्तरगंगामा माओवादीविरुद्ध एमाले–कांग्रेस गठबन्धन

 काठमाडौँ ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका माओवादीको आधार इलाका मानिन्छ । उपाध्यक्ष पदमा माओवादीले नरपुरा बुढा पुन र कांग्रेस–एमालेले केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएका छन् । 

बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघि दलहरू अन्तिम प्रचारप्रसारमा जुटेका छन् ।

कांग्रेस–एमाले गठबन्धन जसरी पनि माओवादीका आधार इलाका भत्काउने रणनीतिमा लागेका छन् । माओवादी भने विरासत जोगाउन लागिपरेको छ । माओवादी उम्मेदवार पुनलाई एकीकृत समाजवादीले साथ दिएको छ । 

सत्तापक्ष र प्रतिपक्षी गठबन्धनका उम्मेदवार गाउँगाउँमा कोणसभा, पार्टी प्रशिक्षण, भेटघाट, टोलस्तरीय बैठक, मतदाता शिक्षाजस्ता कार्यमा लागेका छन् ।

माओवादी उम्मेदवार पुनले गाउँपालिकामा समाजवादको आधार तयार पारी एक घर एक करेसाबारी र एक घर एक फलफूल बगैँचा निर्माण गर्ने घोषणा गरेकी छिन् । साथै, संस्कृति र प्रकृत्तिमा आधारित भएर जीवन्त संग्रहालय बनाई स्थानीय अर्थतन्त्र वृद्धि गरी पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर युवालाई गाउँमै रोजगारी दिने उनले बताइन् । एमाले उम्मेदवार तुलाचनले भ्रष्टाचारमुक्त र नमुना गाउँपालिका बनाउने मुख्य एजेन्डा रहेको बताइन् । गाउँपालिकालाई अपांगमैत्री, किसानमैत्री बनाउने, अनुगमनमा जोड दिने, बजेट तर्जुमा गर्दा सबै वडा, बस्ती र लक्षित समूहलाई समान र न्यायोचित हुने गरी तयार पार्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस