चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएका छन् । आज आयोजित नेपाली काँग्रेसका अग्रज नेता स्व. बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उनले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राखेका हुन् ।
अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गरे। स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उनेले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताए ।
मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए ।
सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाइ थियो । उनले भने, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”
मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालकाको क्यान्सरको उपचार पाँच वटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए । जलन उपचारका लागि यस वर्ष नेपालका आठ वटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उनले उल्लेख गरे ।
विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका-२ विप्राङमा जन्मिएका काँग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । २५ वर्ष जनप्रतिनिधि भएर काम गर्नुभएका श्रेष्ठले विसं २०३५ मा बनेको शक्ति खोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा योगदान दिएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गरेका थिए।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली काँग्रेस चितवनका पूर्व सभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली काँग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत वक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए।
नेपाली काँग्रेस कालिका नगरपालिका-९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गरेका थिए । कार्यक्रममा काँग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन कार्यान्वयनमा सरकार क्रियाशील छः प्रदीप पौडेल
तलब खुवाउन मन्त्रालयको मुख नताक्न वैद्यखानालाई मन्त्री पौडेलको आग्रह
‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’: मन्त्री पौडेल
स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार हो : स्वास्थ्यमन्त्री पौडेल