प्राध्यापक रामकुमार तिवारीको असामयिक निधन

सफल खबर संवाददाता

शनिबार, ०३ कार्तिक २०७५, १७ : २३
प्राध्यापक रामकुमार तिवारीको असामयिक निधन

चितवन । घटस्थापनाको भोलिपल्ट फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरी श्रीमतीसँगको फोटो राखेका प्राध्यापक रामकुमार तिवारीले दशैँटीकाको भोलिपल्ट अर्थात् आज बिहानै संसार छाडे भन्ने खबर त्यही फेसबुकमा फैलिएको छ । परिचित सबैका लागि अकल्पनीय र अविश्वसनीय यो खबरले प्राध्यापक तिवारीका शुभचिन्तक, साथीभाइ, आफन्त, परिवारजन सबैलाई स्तब्ध बनाएको छ ।
प्राध्यापक तिवारीको शनिबार बिहान काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत तिवारीको पार्थिव शरीर चितवन ल्याएपछि आइतबार बिहान साढे सात बजे अन्तिम श्रद्धाञ्जलिको लागि भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरमा राखिने भएको छ । २०१८ साल कात्तिक १८ गते बर्मामा जन्मिएका तिवारी साविक नेकपा एमाले चितवनको प्रशिक्षण विभाग सचिव थिए । उनकी श्रीमती र चार छोरी छन् ।
फेसबुकमा प्राध्यापक तिवारीका साथीभाइ, विद्यार्थी, शुभचिन्तकहरुले उनको मृत्युको खबर विश्वास गर्नै गाह्रो भनी प्रतिक्रिया जनाउँदै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस