आज महानवमी : नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना

विहीबार, ०१ कार्तिक २०७५, ११ : ४८
आज महानवमी : नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना

काठमाडौं: नवरात्रको नवौं दिन बिहीवार देशभर नेपालीहरूको महान् चाड बडादशैंको महानवमी पर्व मनाइँदै छ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
आजबाट सूर्य तुला राशिमा प्रवेश गरेका छन् । आज सिद्धिदात्री भगवतीको विशेष उपासना हुने गर्दछ । आज नवकन्याको पूजन एवं भोजन विशेष फलदायी हुने छ । मन्त्रसिद्धि गर्नैका निीम्त आज उत्तम दिन हो । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रूपमा चिन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस