अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउनुपर्छ : नारायण दाहाल

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १९ : ३७
अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउनुपर्छ : नारायण दाहाल

काठमाडौँ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागितालाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।

आईपीयूमा नेपालको उपस्थिति पनि बढाउँदै लैजानुपर्ने उनले सुझाव दिएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा सम्पन्न आईपीयूको १४९ औँ सभामा सहभागी भई फर्किएका अध्यक्ष दाहालले मंगलबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताएका हुन् ।

आईपीयूका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगाङसँग भेटवार्ता गरेको र त्यो भेटमा आईपीयूका समिति तथा सचिवालयमा नेपालको प्रतिनिधित्व कसरी हुन सक्छ भन्नेबारेमा गहन छलफल भएको दाहालले बताए ।

‘आईपीयूको शान्ति र सुरक्षा, दिगो विकास, लोकतन्त्र र मानवअधिकार, विज्ञान प्रविधि, युवा संसद् तथा महिला सांसदका विषयगत समितिहरूमा नेपालले उम्मेदवारी दिने र अन्तर्राष्ट्रिय संसदीय सहकार्यमा योगदान गर्ने सम्भावना देखेका छौँ, ’उनले भने, ’नेपालको संविधान, निर्वाचन प्रणाली, संसद्‌मा प्रतिनिधित्व, संसदीय समितिहरू तथा अन्य विषयमा प्रतिनिधिमण्डलको प्रमुखबाहेक प्रतिनिधिमण्डलका सदस्य माननीय सांसदहरूले पनि महिला, युवा वा विषयगत अन्य समितिहरूमा सम्बोधन गर्ने तयारीसाथ सहभागिता जनाउनुपर्छ ।’

आईपीयूको सचिवालयमा कर्मचारीका रूपमा नेपाली नागरिकको प्रतिनिधित्व तथा विषयगत समितिमा नेपालका सांसदहरूको प्रतिनिधित्वका लागि अग्रसरता लिनुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । ‘हाम्रो संसद् सचिवालयको क्षमता अभिवृद्धि गर्दै आईपीयू तथा अन्य अन्तर्राष्ट्रिय सम्मेलनमा हाम्रो सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेछ, ’उनले भने ।

अध्यक्ष दाहालले आईपीयूको १४९ औँ महासभामा नेपालको सहभागिता उपलब्धिमूलक र सफल रहेको पनि बताए । उनले महासभामा आफूले नेपालको संघीय संसद्को नेतृत्व गर्दै ‘शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा केन्द्रित रहेर सम्बोधन गरेको जानकारी दिए । आफ्नो सम्बोधनका क्रममा उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समतामूलक पहुँच सुनिश्चित गर्न यस क्षेत्रलाई साझा हितको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिएको जनाए ।

अध्यक्ष दाहालले जलवायु परिवर्तनको प्रभाव र जोखिम न्यूनीकरणका लागि स्थापित कोषहरूबाट सहायता उपलब्ध गराउन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रविधि उपलब्ध गराउन विश्व समुदायलाई आह्वान गरेको पनि जानकारी दिए । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दिशामा रहेको भन्दै यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट थप प्राविधिक र योजनागत सहयोगको आह्वान गरेको पनि उनले जानकारी दिए ।

असोज २७ गतेदेखि कार्तिक १ गतेसम्म स्वीट्जरल्यान्डको जेनेभामा भएको अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को १४९ औँ महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालसहित ९ सदस्यीय टोलीको सहभागिता रहेको थियो । नेपाली प्रतिनिधिमण्डलमा एमाले सचेतक सुनिता बराल, रास्वपा सचेतक निशा डाँगी, राष्ट्रिय सभाका सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी भएका थिए । त्यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा र संघीय संसद् सचिवालयका उपसचिव नमराज नगरकोटी नेपाली प्रतिनिधिमण्डलमा थिए ।

प्रतिक्रिया दिनुहोस