नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

आइतबार, २८ असोज २०७५, १४ : ३०
नुवाकोटका १६ ठाउँमा ट्राफिक जाँच

बेत्रावती । नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । 

विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ । 

विदुर नगरपालिका वडा नं १० स्थित ढुङ्गे–बेत्रावती सडक खण्डमा बस्नुभएका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन् । ती सवारीलाई कारवाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट रु ५० हजारको हाराहारीमा राजश्वसमेत सङ्कलन भएको छ । 

दशैँ सुरु भएपछि दैनिक तीन सयभन्दा बढी सवारी कारवाहीको दायरामा आइसकेका छन् । ती सवारीबाट रु एक लाख ५० हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो । नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पिपलटार, रानीपौवा, कोल्पुटार, ढुङ्गे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्षा चलाउँदै आएको छ । 

जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायलाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । विशेष अभियानका रूपमा यो कार्य दशैँ अवधिभर कायम रहने प्रहरीले जनाएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस