दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, ११ : ३६
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?

चितवन । दशैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ । यसले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरुले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँछन् । मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनको भनाइ छ ।  

उनले भने, “खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ । बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ ।” राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ ।    बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए । खतिवडाले भने, “पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ ।” बोसोरहित मासु कम खान उनको सुझाव छ ।
 

कस्तो मासु नखाने ?

त्यसको क्वालिटी कस्तो छ नहेरी प्रयोग गर्दा शरीरले दुःख पाउँछ । बजारमा बेच्न राखिएको मासु हल्का गुलावी रंगको छ भने त्यसमा केही न केही खराबी छ भन्ने बुझ्नुपर्छ । अनि मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भईसक्यो भनेर बुझ्दा हुन्छ । मासुबाट अमिलो, बिग्रिएको, नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खानु हुँदैन, पसलमा झुण्डयाएर खुल्ला रुपमा राखिएको मासुमा पनि व्याक्टेरियाको संक्रमण हुन्छ । दशैंको लागि खसी किन्दा पनि  सिंगान बगेको, मेडिकल डक्टरले स्वस्थ्य छ, भनेर चिन्ह नलगाएको अस्वस्थयकर हुन्छ । 

कस्तो मासु कसरी खाने ?

सुरुमा खसी बोका कुखुरा च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ्य छ भनेर प्रमाणित गरेको मात्रै किन्नु पर्छ । यदि हामी त्यति गर्न सक्दैनांै भने नजिकको पसल, जहाँ तपाईंलाई विश्वास लाग्छ त्यसबाट मात्र लिने गर्नुपर्छ । जहाँ पायो त्यहिँबाट मासु लिनु हुँदैन । मासु राम्रोसँग पकाएर खानु पर्छ । राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्छ । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुन्छ । खसीमा अलि रेडमिट बढी हुन्छ । छाला खाँदा पनि पाचन प्रक्रियामा असर गर्छ । छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन । पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्व हुन्छ । त्यो स्वस्थ्यकर मासु होइन । त्यसले पाचन प्रक्रियालाई राम्रो गर्दैन । दशैंमा मानिस मीठो बनाउने ध्यानमा हेल्दी कुरा बिर्संदै गएका हुन्छन् । मासु बनाउँदा हरेक कुरा कम हुनुपर्छ, जस्तो नुन, मसला तेल । अहिले हामी देख्छांै दशैमा, भोजभतेरमा जसरी बनाउने गरेको छ चिल्लो, पिरो, नुनिलो अत्यधिक मसलाको प्रयोग, त्यो एकदमै गलत हो । मासु पकाउँदा एकदमै सामान्य पकाई हुनुपर्छ । 

 

प्रतिक्रिया दिनुहोस