भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, ०९ : ५१
भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।

‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजार रुपैयाँसम्म खर्च भएको थियो’, उनले भने ।

केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भीषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो’, उनले भने ।

कोशी ब्यारेजकै किसान लक्ष्मण प्रमाणीले दशैँ लगत्तै धान काट्ने सोचमा थिए । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । ‘चार  बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’

त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन् । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।

यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कविरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनको भनाइ छ ।

किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गको उतरपट्टी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय बुदुर राम र फुदुर रामको दुई–दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।

धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट आएका जलकुम्भी, विभिन्न झारपातले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस