मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १५ : २२
मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने

वीरगन्ज । मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए । बाढी पहिरोबाट देशका अधिकांश ठाउँमा क्षति पुगेकाले केन्द्र सरकारलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।

यस्तै बैठकले प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त भएका कर्मचारीहरूको कामबारे अध्ययन गर्न समिति गठन गरेको छ । कर्मचारीहरूको कामबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ सदस्यीय समिति गठन गरेको हो ।

प्रदेश सांसद उपेन्द्र महतोको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । समितिको सदस्यमा मन्त्रीद्वय प्रमोद जैसवाल र शेष नारायण यादव तथा प्रदेश सांसद संजयकुमार यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस