मधेस सरकारको कामको समीक्षा गर्दै सकियो जनमत सचिवालय बैठक

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, १४ : ०७
मधेस सरकारको कामको समीक्षा गर्दै सकियो जनमत सचिवालय बैठक

वीरगन्ज । मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सकिएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार सम्पन्न भएको हो ।

बैठक खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम गर्न देखिएका कठिनाइको सवालमा केन्द्रित रहेको जनमत पार्टीले जानकारी दिएको छ ।

‘दुई दिनसम्म चलेको बैठकमा पार्टीले नेतृत्व गरिरहेको मधेस सरकारले कार्यभार सम्हालेको करिब ४९ दिनमा के कतिको प्रगति गर्‍यो ? जनताका समस्यामा कतिको काम गर्‍यो ? सरकार सञ्चालन गर्दा के–के समस्याहरू देखा परेका छन् त्यसको बारेमा छलफल केन्द्रित रहेको थियो,’ पार्टी प्रवक्ता शरद यादवले जनाए ।

उनका अनुसार मुख्यतः यही सेरोफेरोमा रहेर चलेको बैठकमा मधेस सरकारको ४५ दिनसम्ममा भएको गतिविधिको बारेमा समीक्षा गरेको थियो । त्यसपछि सरकारलाई अझ बढी चलायमान बनाउन समीक्षा बैठकले सुझाव दिएको उनको भनाई छ ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सतिश सिंहलाई निर्देशन दिएको छ ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता यादव बताउँछन् । बैठकबाट प्राप्त सुझावहरू सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ । जनमत अध्यक्ष सिके राउतको अध्यक्षतामा सो बैठक चलेको थियो । 

प्रतिक्रिया दिनुहोस