विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, १४ : २८
विपद‍्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद‍्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताएका हुन् ।

मन्त्री पौडेलले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए ।

उनले सरकारी अस्पतालहरूमा विपद‍्बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद‍्बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए ।

उनले विपद‍्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ । निजी अस्पतालहरुलाई पनि विपद‍्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन ।

अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन् ।’

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताए । उनले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस