खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, ०९ : ३८
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

File Photo

खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएका छन् भने दुईजना घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

‘बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’, उनले भने, ‘दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन् भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।

बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।

बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकोमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्’, उनले भने, ‘जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार रुपैयाँ बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस