तमू ल्होछार पर्वलाई सम्बोधन गर्दै प्रमुख दाहालले भनिन्, - गुरुङ जाति वीरहरु जन्माउने जाति

शनिबार, १५ पुस २०७४, १६ : १७
तमू ल्होछार पर्वलाई सम्बोधन गर्दै  प्रमुख दाहालले भनिन्, - गुरुङ जाति वीरहरु जन्माउने जाति


भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गुरुङ जाति वीरहरु जन्माउने जाति भएको बताएकी छिन् । तमू ल्होछार पर्व मूल समारोह समितिले शनिबार भरतपुरस्थित बौद्ध गुम्बामा आयोजना गरेको तमू ल्होछार पर्व (पुस १५) मूल समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन् ।

‘आदिवासी जनजातिहरु वीर र बहादुर हुन्छन्’ महानगर प्रमुख दाहालले भनिन्, ‘जनजातिमा पनि गुरुङहरु वीर जन्माउने जातिमा पर्छन् । विश्वयुद्ध लडेका बहादुरमध्ये धेरै गुरुङ जातिकै वीरहरु छन् ।’ गुरुङ जातिले हरेक वर्ष मनाउने तमू ल्होछार पुस १५ गते पर्ने भएकोले यो दिन ऐतिहासिक दिन भएको दाहालको भनाइ थियो ।

‘आदिवासी जनजाति विशेषगरी गुरुङ समुदायको आँट र साहसबाट परिचित विश्वले हाम्रो देश नेपाललाई वीरहरुको देश भनेर चिन्छ’ महानगर प्रमुख दाहालले भनिन्, ‘नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गुरुङहरुको विशेष योगदान रहँदै आएको छ । हामीले प्राप्त गरेका अधिकार कसैले सजिलै दिएको होइन, सबै जातजाति, भाषाभाषी, क्षेत्र, लिंग र समुदायको यसमा योगदान रहेको छ ।’

महानगरपालिका स्थानीय सरकार भएको बताउँदै दाहालले भाषा र सँस्कृतिको संरक्षणमा राज्यको दायित्व रहेजस्तै स्थानीय सरकारको पनि दायित्व रहने कुरा आफूले राम्रोसँग बुझेको बताइन् । ‘स्थानीय सरकार महानगर प्रमुख भएको नाताले म तपाइँहरुका आवश्यक माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ दाहालले भनिन्, ‘सबै जाति, धर्म, भाषा, समुदायका लागि महानगरले सहयोग गर्नेछ ।’

महानगरपालिका यतिबेला नगर परिषद्को तयारीमा जुटेको जानकारी दिँदै प्रमुख दाहालले नगर परिषदको तयारीमा धमाधम बैठकहरु भइरहेको जानकारी गराइन् । उनले कार्यक्रमस्थल भरतपुरको तीनखोलेमा रहेको बौद्ध गुम्बाको विकास र भौतिक संरचना निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिइन् । ‘यसै वर्ष पनि केही सहयोग गर्नेछौँ’ उनले भनिन्, ‘हामी तपाइँहरुको साथमा छौँ ।’

महानगर प्रमुख दाहालले आफूले व्यक्तिगत इच्छा र चाहनालाई त्यागेर उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा काम गर्दै आएको र अब पनि त्यस्तै काम गरिरहने बताइन् । उनले ल्होछार पर्व मूल समारोह आयोजकलाई भाषा र सँस्कृतिको संरक्षण गर्न सफलता मिलोस् भन्दै उपस्थित सम्पूर्णलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिन् ।

आयोजक संस्थाका अध्यक्ष गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न मूल समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री तिमिल्सिना, नयाँ शक्ति पार्टी जिल्ला अध्यक्ष विष्णुहरि तिमिल्सिना, नेपाली काँग्रेसका भूपतिदास सापकोटा, तमूस्यो छोँज धिँकी अध्यक्ष माया गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु निमाङ्जली गुरुङ र भरत गुरुङलाई कार्यक्रममा सम्मानित गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रमबीच रमाइलो वातावरणमा मनाइएको ल्होछार मूल समारोहमा आधा दर्जनभन्दा बढी नृत्य प्रस्तुत भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस