‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’ : महामन्त्री विश्वप्रकाश शर्मा

प्रतिवेदनबारे भ्रम नछर्न रास्वपालाई आग्रह

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, ०९ : ५१
‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम नछर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् ।

‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न उनले आग्रह गरेका हुन् । 

रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् ! `प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ l बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनले l चिट ( cheat ) को अर्थ- बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ! ’

त्यस्तै, उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न पनि सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ ।

‘कतिपय असन्तुष्टिको माहौलमा `स्वतन्त्र´ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग `क्यास´ गर्न `स्वतन्त्र´ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो l अब `स्वतन्त्र´ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना !,’ उनले लेखेका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय सम्मेलनको सफलताको शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस