वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, १० : १२
वृद्धभत्ता खान श्रीमतीको उमेर बढाउने वडाध्यक्षलाई ९ महिना कैद हुने

मोरङ । मोरङको रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आफ्नै श्रीमती भक्तकुमारी लुईटेलको नागरिकता बनाउन सरकारी कागजात किर्ते गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । 

श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लुईटेलमाथि थियो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना तोकेको छ । 

लुईटेललाई गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको छ । यस्तै, सार्वजनिक सम्पतिको हानीनोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको विषेश अदालतले जनाएको छ ।

वडाध्यक्ष लुइँटेलले दोस्रो कार्यकालको लागि पनि निर्वाचित भएका थिए । उनले पहिलो कार्यकालमा नक्कली कागजात राखेर सिफारिस गरेका थिए । २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्तेगरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।

अख्तियारको अनुसन्धानमा सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्ष लुईटेलको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचीमा प्रविष्ट गरी/गराई सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको अक्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनले आफ्नै श्रीमतीलाई सामाजिक सुरक्षा भत्ता खुवाउन उमेर नै बढाएका थिए । उमेर नपुगेको अवस्थामा नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस