वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, १० : ४३
वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

वडाध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिबास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशङ्का गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।

यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म पुगेका थिए। घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुसन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिँदै यसमा लापरबाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिए । परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उनले बताए ।

यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइराख्नुपर्ने बताए । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउन सक्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले पति वियोगमा रहेकी अध्यक्ष यादवकी श्रीमतीले देखाएको धैर्यता र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताए ।

माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउन्डेसन बनाउन र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिए । उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन् । उनले श्रीमानको निधनको सत्यतथ्य कारण पत्ता लागे आफूहरूलाई न्याय महसुस हुने उल्लेख गर्दै यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसहित पार्टीसँग अनुरोध गरिन्। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ठुलो सङ्ख्यामा स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस