मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

सफल खबर संवाददाता

शुक्रबार, २१ भदौ २०८१, ०७ : ५६
मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् ।

जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको भीड देखिएको थियो । यसका साथै ग्रामीण क्षेत्रका बजारहरूमा पनि किनमेल गर्नेको अत्यधिक भीड देखिएको थियो । चौरचनमा प्रयोग हुने माटाको भाँडावर्तन एक साता अगाडि नै किनेका भए पनि फलफूल तथा अन्य पूजाका सामग्री आजसम्म किनमेल गरिने भएकाले बजारमा भीड बढेको हो ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगत्लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउछन् । “खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ”, कापडीले भने ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउछन् । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । ठाकुर आफैँ ज्योतिष हुनुहुन्थ्यो । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको मान्यतो छ । मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएका बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ । यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।

जनकपुरधाम उपमहानगरपालिका–४ की ज्योतिदेवी झा झण्डै एक दशकदेखि यो व्रत बस्दै आएका छन्। उनका अनुसार चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउछन् । मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस