चौरचन पर्व नजिकिँदै जाँदा केराको माग बढ्यो

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, ०९ : ५७
चौरचन पर्व नजिकिँदै जाँदा केराको माग बढ्यो

महोत्तरी । महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् ।

चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ । अहिले पर्वका लागि आफ्ना उत्पादित कृषि उपज बजार पुर्‍याउने किसान र व्यापारी तथा सामान किन्न पुग्ने उपभोक्ताको सघन जमघटले पर्वका बजार बिहानैदेखि जम्ने गरेका छन् ।

चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट रु दुई लाख प्राप्त भइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताए । उनले १० कठ्ठा क्षेत्रफलमा केराखेती लगाएका छन् ।

जिल्लाभरिमा चौरचन पर्वमा ५० लाख रुपैयाँ हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अड्कल छ । पर्वका लागि छिप्पी नसकेका कलिला कोसाका केरा पनि प्रशस्तै देखिएको छ । यसैगरी पर्वको बजार भोलिसम्म मात्र हुँदा कलिला केरा कार्वाइड हालेर पकाइएका छन् ।

पर्वमा भीडभाडका बेला पारेर अन्य कमसल गुणस्तरका सामान पनि बिक्री भइरहेको हुँदा स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सामाजिक संघसंस्थाले बजार अनुगमन बढाउनुपर्ने उपभोक्ता हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुली बताउँछन् ।

प्रतिक्रिया दिनुहोस