श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, ११ : ३९
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने

चितवन । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सको ७२ सिटे एटिआर विमान भरतपुर ल्याउने तयारी गरिएको हो । गत असार ६ गते श्रीले काठमाडौं-भरतपुर परीक्षण उडान गरेको थियो ।परीक्षण उडान सफल भएसँगै श्रीले काठमाडौं-भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनले दशैं अगाडि नै भरतपुरमा सेवा दिने गरी उडान अनुमति लिने प्रक्रियामा लागेको जानकारी दिए । ‘मलाई विश्वास छ दशैं अगाडि नै हामीले भरतपुर र त्यस आसपासका जनतालाई सेवा दिन पाउँछौं, त्यसको तयारी पनि भैरहेको छ,’ प्रबन्धक मानन्धरले भने, ‘एक दुई दिनभित्रै उडान अनुमति लिने प्रक्रिया सकिनेछ ।Ú

भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ७२ सिटे विमान आउन नसक्ने भनिएता पनि श्रीले ८० सिटे जहाजकै सफल परीक्षण उडान गरेपछि अन्य विमान कम्पनीहरू पनि भरतपुर आउन चाहेका छन् ।

काठमाडौं-भरतपुरको उडान बुद्ध एयरलाइन्सको ४२ सिटे जहाजले गर्दै आइरहेको थियो । अहिले भाडादर एकतर्फी मात्रै झन्डै ४७ सय बुद्धले लिंदै आएको छ । २० मिनेटमा भरतपुर काठमाडौं उडान गर्न सकिने भए पनि भाडा भने निकै महँगो पर्दै आएको छ ।

श्रीले ठुलो जहाज नै ल्याउने भएपछि भाडा पनि घट्ने र यात्रुलाई सुविधा पनि हुने श्रीका प्रवन्धक मानन्धरले बताए । श्रीले ८० सिटे जहाजको सफल उडान परीक्षण गरेपछि बुद्धले पनि ७२ सिटे जहाज नै ल्याएर परीक्षण उडान गरेको थियो । भरतपुर विमानस्थलको रनवे १२ सय मिटर मात्रै छ । रनवेलाई बढाउने भनेर प्रक्रियासमेत अगाडि बढेको छ ।

विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ । ती भवनमाथिका जोखिम संरचना महानगरपालिकाले हटाउन सकेको छैन । भरतपुर विमानस्थल र प्राधिकरणले पटकपटक जोखिमयुक्त संरचना हटाउन अनुरोध गर्दै आएका छन् ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्दैछ । विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ । भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन ।