मनकामना केबुलकार भोलीदेखी सञ्चालनमा आउने

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १९ : १३
मनकामना केबुलकार भोलीदेखी सञ्चालनमा आउने

चितवन । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार मर्मत संभार लगत्तै भोलीदेखी सञ्चालनमा आउने भएको छ । २ महिनाको मर्मत संभार पछी असोज १ गते बिहानैदेखी सञ्चालनमा आउने भएको हो ।

गएको असार ३१ गतेदेखी मर्मत संभारको लागि पूर्ण रुपमा बन्द गरेको मर्मत संभार गरीएको केबुलकार असोज १ गते बिहानैदेखी नियमित रुपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबावु श्रेष्ठले जानकारी दिए।

‘हामीले हाम्रा यात्रुहरुको सुरक्षाका लागि अत्याधुनिक प्रविधिमा स्तारोन्नति गर्न २ महिनादेखी केबुलकार बन्द गरेर काम गरेका थियौ’ उनले भने ‘एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्टमा रुपान्तरण गर्ने काम सम्पन्न भएको छ ।’

स्थापनाको २६ बर्ष पछी केबुलकारलाई एनालगबाट डिजिटल प्रणालीमा रुपान्तरण गरिएको हो । केबुलकारलाई डि–कनेक्ट प्रणालीमा लान अस्टिङयाका विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकहरुको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा स्तरोन्नतिका काम सम्पन्न भएको हो ।

केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जादा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको निर्देशक श्रेष्ठले बताए । २०५५ साल मंसिर ८ गतेदेखी विधिवत रुपमा सञ्चालनमा आएको केबुलकारले चितवनको चेरेशमा बटम स्टेशन र गोरखाको मनकामना मन्दिर छेवैमा टप स्टेशन राखी मनकामना मन्दिर आउजाउ गर्नेहरुका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस