खुकुरी प्रहारको घटनाका आरोपी सात जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, ०८ : ३६
खुकुरी प्रहारको घटनाका आरोपी सात जना पक्राउ

सुनसरी  । सुनसरीको इटहरी–६ स्थित कुवेर चोकमा भएको खुकुरी प्रहारको घटनमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा इटहरी–२ का २० वर्षीय लोप्सन गुरुङ, इटहरी– १८ का २२ वर्षीय ज्योतिष चौधरी, २२ वर्षीय मनिष चौधरी, इटहरी–१७  का २१ वर्षीय गणेश चौधरी, २१ वर्षीय आशिष चौधरी, इटहरी–१३ का २६ वर्षीय उमेश कोइराला र इटहरी–२० का १६ वर्षीय हिमेश राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  बुधबार इटहरी–६ को पारूहाङ चोकमा हातमा धारिलो हतियार खुकुरी बोकेर आएका पक्राउ परेकाले लखेटी–लखेटी इटहरी–१६ का २१ वर्षीय प्रवेश बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका बुढाथोकीको उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस