सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ: मन्त्री भट्टराई

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १३ : १५
सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ: मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् ।उनले भनिन्, ‘सीटीईभीटीलाई पुनर्संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि कम्तिमा सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ ।

विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसको लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।

यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरू भइरहेको बताइन् । 

युवाहरूलाई देशमा राख्नको लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस