दक्षिण कोरिया : ब्याट्री कारखानामा आगलागीको मामिलामा हाकिम पक्राउ

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : ४५
दक्षिण कोरिया : ब्याट्री कारखानामा आगलागीको मामिलामा हाकिम पक्राउ

सोल । दक्षिण कोरियाको लिथियम ब्याट्री बनाउने कम्पनी एरिसेलका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरिएको छ । जुनमा २३ जनाको ज्यान जाने गरी सो कारखानामा भएको भयानक आगलागीको मामिलामा प्रहरीहरूले पार्क सून–क्वानलाई पक्राउ गरेका हुन् ।

यस घटनामा अरू ९ जना घाइते भएका थिए । अदालतले बुधबार पार्कको नाममा पक्राउ पुर्जीलाई मञ्जुरी दिएको थियो ।कम्पनीको व्यवस्थापनले कार्यस्थलको सुरक्षा मापदण्ड उल्लङ्घन गरेको आशङ्का गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यो आगलागीको घटनामा दक्षिण कोरियाको कारखानामा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब आगलागी थियो ।

एरिसेलको माउ कम्पनी एस–कनेक्टले यस मामिलामा बीबीसीले सोधेको प्रश्नको तत्कालै जवाफ नदिएको बताइएको छ । आगलागीको घटना लगत्तै पार्कले माफीनामा जारी गरेका थिए । सो घटनाको सबै जिम्मेवारी लिँदै उनले मृतक र तिनका परिवारलाई सम्भव भएसम्म सबै तवरले सहायता उपलब्ध गराउने पनि उनले सो माफीनामामा भनेका थिए ।

प्रहरीले गरेको छानबिनको क्रममा कारखानामा प्रोडक्शन डेडलाइन पूरा गर्न भ्यानभ्याइ भएको पत्ता लागेको थियो । कारखानामा ब्याट्रीमा समस्याको स्तर पहिचान्न नसकेको अनि ब्याट्री जस्तो वस्तुको व्यवस्थापनमा अदक्ष कर्मचारीलाई भर्ना गरेको लगायत कयौँ सुरक्षा चूक भेटिएको अनुसन्धानकर्ताहरूले भनेका छन् । सेनासँग सम्बन्धित करारमा गुणस्तर निगरानीमा पनि ठगी गरेको आरोप पनि एरिसेलमाथि लागेको बताइएको छ ।

जुन २४ मा कयौँ ब्याट्री सेल पड्किँदा कारखानामा भयानक आगो लागेको थियो । घटनाको समयमा कारखानाको दोस्रो तलामा निरीक्षण र प्याक गरेर झन्डै ३५ हजार वटा ब्याट्री राखिएको थियो । लिथियमका कारण आगो लाग्दा पानीले निभाउन सकिन्न ।

अग्नि नियन्त्रकहरूले आगो निभाउन सुख्खा बालुवाको प्रयोग गर्नु परेको थियो । यसका कारण आगो नियन्त्रणमा आउन कयौँ घण्टा लागेको थियो । यस घटनामा मर्ने अधिकांश चीन र लाओ सलगायत देशबाट काम गर्न आएका विदेशी कामदार थिए । दक्षिण कोरिया लिथियम ब्याट्रीको सबैभन्दा ठुलो निर्माता हो ।