यातायात क्षेत्रको समस्या सम्बोधन भएन: महासंघ

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १० : २४
यातायात क्षेत्रको समस्या सम्बोधन भएन: महासंघ

काठमाडौ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीन वटा यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख सवारीसाधनमा १० खर्बभन्दा बढी लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिए । सडक दुर्घटनाबाट अहिले दैनिक सातजनाको मृत्यु हुनुका साथै ४० जना घाइते हुने गरेका छन् ।

उनले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै उक्त राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए । महासंघले गत असार २८ मा चितवनको सिमलतालमा पहिरोबाट दुईवटा सवारीसाधन पुरेको घटनाको अध्ययन गरी प्रतिवेदन बुझाएकाले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।

यस्तै २०७८ माघ ११ मा पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित यातायात सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन यथाशक्य कार्यान्वयन हुनुपर्ने बताएको हो ।

महासंघले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, उपभोक्ता, मजदुर, प्रविधिमैत्री र दुर्घटना न्यूनीकरण गर्नका लागि यातायात प्राधिकरण गठन गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र पाटपुर्जाको मूल्य वृद्धि भएकाले यातायात भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना सवारीको हकमा सर्वोच्च अदालतले फैसला गरिसकेकाले उक्त फैसलाको कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

यसैगरी, रातो नम्बरप्लेटका सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिइएको जनाउँदै उक्त कार्य रोक्नुपर्ने, भारतीय मालवाहक सवारीसाधनले सामान ओसारपसार गर्दा नेपाली मालवाहक सवारीसाधन मर्कामा परेकाले यसलाई रोक्नुपर्ने बताइएको छ । यस्तै, टिपरलाई काठमाडौं उपत्यका प्रवेशमा निश्चित समय तोकिँदा बैंकको ब्याजदर, किस्तामा समस्या देखिएकाले त्यसमा पुनरावलोकन हुनुपर्ने, दुर्घटना उद्धार तथा राहत कोष निर्माण गर्न माग गरेको छ ।

गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम  गर्न र यात्रुलाई चाडपर्वलक्षित प्रभावकारी सेवा प्रवाह गर्न  व्यवसायीलाई आग्रह गरे । 'दुर्घटना एकदमै बढ्यो, यो भएन, सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरीलाई भन्न चाहन्छु, आगामी दुई/तीन महिनामा दुर्घटना कम भएको देखिनुपर्छ, मलाई परिणाम चाहिन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस