छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १६ : १४
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निर बहादुर सारूको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बरहथवा नगरपालिका-१० किसनपुरस्थित टिकुलीयाबाट बरहथवातर्फ जाँदै गरेको प्र.२-०३-०२० प ३२४५ नम्बरको मोटरसाइकले साइकललाई ठक्कर दिई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-४ हेमपुर बस्ने ४३ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-५ कोशी बाँधस्थित सडकमा स.२ प ७२९६ नम्बरको मोटरसाइकल र को.३४ प ५४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स.२ प ७२९६ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका-१५ बस्ने ५२ वर्षीय विनोद कुमार साहको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका  को.३४ प ५४४९ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि अस्पतालतर्फ लगिएको छ ।

झापा, दमक नगरपालिका-९ चियाबगानस्थित सडकमा उर्लाबारीबाट दमकतर्फ जाँदै गरेको प्रदेश १-०२०४१ प ५०८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस