छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १३ : ५१
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । खोटाङ, झापा, कञ्चनपुर लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो ।

खोटाङको साकेला गाउँपालिका–१ बाँझेस्थित सडकमा प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर मङ्गलवार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अर्का १ जनालाई उपचारका लागि घोपा अस्पताल धरान रेफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकस्थित सडकमा बा. ७० प १८१ नम्बरको मोटरसाइकल र मे. ६ प ५८१ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा बा. ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने २४ वर्षीय सन्जोक भण्डारी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मे. ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।यता, काठमाडौँ महानगरपालिका–४ शंखपार्कस्थित सडकमा बाप्र०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल, बाप्र ०२–०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा.६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाप्र ०२– ००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरुङको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको चिरायु अस्पताल वसुन्धरामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले

नियन्त्रणमा लिएको छ । त्यस्तै कञ्चनपुरको  भिमदत्त नगरपालिका–४ हाइवे सिँचाइ कार्यालयस्थित सडकमा युके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ । मङ्गलवार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका–४ चाँदनीस्थित सडकमा युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार बिहान भएको दुर्घटनामा मृत्यु भएको उनको नाम र ठेगाना खुलेको छैन ।  दुर्घटनामा गम्भीर घाइते भएका अर्का १ जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस