मुस्ताङको कोरला सिमामा भौतिक संरचना निर्माण थाल्न संसदमा भट्टचनले गराए ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, ०६ भदौ २०८१, १५ : ४५
मुस्ताङको कोरला सिमामा भौतिक संरचना निर्माण थाल्न संसदमा भट्टचनले गराए ध्यानाकर्षण

काठमाडौं। नेकपा (एमाले)का सांसद देवीप्रसाद भट्टचनले मुस्ताङको कोरला सिमामा भौतिक संरचना निर्माण थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भट्टचनले कोरला सिमामा नेपालतर्फ भन्सार, सिमा प्रहरी, सैनिक तथा कर्मचारीहरूका लागि आवाससहितको भौतिक संरचना निर्माणको कार्य थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘पर्यटकीय एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण कोरला सिमाको कालीगण्डकी कोरिडोर सडक म्याग्दीदेखि कोरलामा आवश्यक बजेट उपलब्ध गराइ सडक कालोपत्रे र पुलहरूको निर्माणका लागि ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।

यस्तै सांसद भट्टचनले मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाएको ‘प्रतिबन्धित क्षेत्र’ फुकुवा गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रतिबन्धित क्षेत्र फुकुवा गरी खुला गर्नका लागि सिफारिश गरेको जानकारी दिँदै प्रक्रिया छिटो अगाडि बढाउन गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङ अन्तर्गतका सम्पूर्ण भू–भाग र वडा नं ५ को साङ्ता गाउँलाई गृह मन्त्रालयले २०७६ असारमा राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित क्षेत्र घोषणा गरेको थियो । 

‘स्थानीयहरूको मागबमोजिम बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालय तथा अन्य सम्बन्धित निकायहरूबाट वडा नं ३ र ५ लाई प्रतिबन्धित क्षेत्र फुकुवा गरी खुला बनाउनका लागि सिफारिशसमेत भइसकेको हुँदा गृह मन्त्रालयबाट छिटो छरितो फुकुवाको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराउँदछु,’ उनले थपे । 

प्रतिक्रिया दिनुहोस