विद्युतीय प्रणालीमार्फत इतिहासकै सर्वाधिक कारोबार, एकै महिनामा ३४ खर्बले बढ्यो

सफल खबर संवाददाता

मंगलबार, ०४ भदौ २०८१, १२ : ११
विद्युतीय प्रणालीमार्फत इतिहासकै सर्वाधिक कारोबार, एकै महिनामा ३४ खर्बले बढ्यो

काठमाडौं। विद्युतीय प्रणालीमार्फत असार महिनामा इतिहासकै सर्वाधिक कारोबार भएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना असारमा हालसम्मकै उच्च कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार असारमा मात्रै १३ करोड ७३ लाख ६४ हजार २८४ पटक विद्युतीय प्रणालीमार्फत लेनदेन हुँदा ८८ खर्ब ३३ अर्ब ९ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । जुन हालसम्मकै सर्वाधिक कारोबार हो ।यसअघि सर्वाधिक कारोबार आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।

यसका साथै नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड रुपैयाँको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो । जेठ महिनाको तुलनामा असारमा ३४ खर्ब १८ अर्ब रुपैयाँले बढी कारोबार भएको हो ।

नेपालमा आरटीजीसी, वालेट, एटीएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट तथा क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्यूआर बेस पेमेन्ट, पीओएस र ई-कमर्सलगायत विद्युतीय प्रणालीमार्फत कारोबार हुने गरेको छ ।

 

जसमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ । अधिकतम रकमको भुक्तानी अथवा ठूलो कारोबारका लागि ‘आरटीजीसी’ प्रणाली प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

कुन महिना कति कारोबार ?

आर्थिक वर्ष २०८०/८१ मा कुल विद्युतीय प्रणालीमार्फत ५९२ खर्ब १५ अर्ब ६७ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी असार महिनामा भएको छ । सबैभन्दा कम विद्युतीय प्रणालीमार्फत कार्तिक महिनामा भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा ४३ खर्ब ६२ अर्ब ४६ करोड ६० लाख रुपैयाँको लेनदेन विद्युतीय प्रणालीमार्फत भएको थियो ।भदौ महिनामा विद्युतीय प्रणालीमार्फत हुने कारोबार करिब ७ खर्बले घटेको थियो । भदौमा मात्रै ३६ खर्ब ८९ करोड १० लाख रुपैयाँको विद्युतीय कारोबार भएको थियो । 

असोज महिनामा विद्युतीय कारोबार रकम करिब ९ खर्बले बढेको थियो । असोजमा मात्रै ४५ खर्ब ५१ अर्ब १४ करोड १० लाख रुपैयाँको डिजिटल माध्यमबाट कारोबार भएको थियो । कार्तिक महिनामा यस वर्षकै सबैभन्दा कम विद्युतीय कारोबार भएको देखिन्छ । कार्तिक महिनामा ३५ खर्ब ४६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो । 

मंसिरमा भने ४१ खर्ब ६५ अर्ब ४५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार विद्युतीय प्रणालीमार्फत भएको थियो । पुस महिनामा ४३ खर्ब ३८ खर्ब २३ करोड ७० लाख र माघ महिनामा ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार विद्युतीय प्रणालीमार्फत भयो । 

फागुन महिनामा ५१ खर्ब ६७ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बराबरको विद्युतीय लेनदेन भयो । चैतमा महिनासम्म आइपुग्दा एकै महिनामा ५२ खर्ब ८२ अर्ब ५६ करोड ४० लाख रुपैयाँको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो ।

त्यसै गरी वैशाख महिनामा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । जेठ महिनामा मात्रै विद्युतीय माध्यमबाट ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । त्यसै गरी आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना असारमा ८८ खर्ब ३३ अर्ब ९ करोड ४० लाख रुपैयाँको डिजिटल कारोबार भएको छ ।