छाडा साँढेको आक्रमणबाट महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, १० : ३०
छाडा साँढेको आक्रमणबाट महिलाको मृत्यु

बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

छाडा साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए । 

उनका अनुसार साउन २० गते डेरीमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् । दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भएकी थिइन् । 

गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।