झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १३ : १७
झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापामा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।  मेचीनगर नगरपालिका–१० बस्ने २९ वर्षीय राजीव साह र २८ वर्षीय महमद अजिमलाई गएराति ९:५५ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलबाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ। 

भारतबाट नेपालतर्फ मे १० प १३३८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका चालक साह र पछाडि सवार अजिमलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूले ल्याउँदै गरेको प्लास्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। 

त्यस्तै  लागू औषधसहित एक भुटानी शरणार्थी महिला पक्राउ परेकी छन्। शुक्रबार साँझ ७:३० बजे दमक नगरपालिका ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमीला गुरुङ ब्राउन सुगरसहित पक्राउ परेकी हुन्।

उनले अवैध रुपमा लागू औषध बेचबिखन गरिरहेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गर्दा प्लास्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस