पहिरोमा आफन्त गुमाएका तनहुँका ३ परिवारलाई सरकारले दियो राहत

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, ०८ : ०६
पहिरोमा आफन्त गुमाएका तनहुँका ३ परिवारलाई सरकारले दियो राहत

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गते गएको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई संघीय सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ। 

यहाँका तीन मृतकका परिवारलाई सरकारले प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो। 

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले  राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम राहत प्रदान गरिएको हो। 

गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक ५० हजारका दरले रकम प्रदान गरेको छ। 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले पनि पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ।