संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, २१ : १३
संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढंगबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएका छन् । 

बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले अब संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकामा सशक्त भएर प्रस्तुत हुनुपर्ने र नयाँ तरिकाबाट जनतामा गएर सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले पार्टी अध्यक्ष दाहालले बैठकमा बोलेको उदृत गर्दै भने, ‘भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कूटनैतिक सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्र नेतृत्वको सरकार सफल भएको छ । अब यही कुराहरूलाई लिएर जनतामा जाने र नयाँ तरिकाबाट सम्बन्ध विस्तार गर्ने भन्नेबारे छलफल भएको छ ।

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएका थिए ।बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे र वर्षमान पुनले आ-आफ्नो धारणा राखेका थिए ।

उनले पार्टीले संगठनको रूप, जनपरिचालन, संघर्षका रूपहरूमा नयाँ तरिका अपनाउने बताए ।

प्रतिक्रिया दिनुहोस