दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १५ : ४४
दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम

काठमाडौं। बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ । करार कर्मचारीको रुपमा काम गरेकी प्रिजा एकदमै मेहनती र प्रतिबद्ध कर्मचारी रहेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए ।

’प्रिजा ऊर्जा सचिवको सचिवालयमा १० वर्षदेखि सहायक कम्प्युटर अपरेटर भएर काम गर्नुभएको थियो,’ सिंहले भने, ’यहाँ मेहनती हुनुहुन्थ्यो । हिजो (मंगलवार) पनि अफिस आउनुभएको थियो, आज दुःखद खबर सुन्नु पर्यो ।’

प्रिजाका श्रीमान् मनुराज शर्मा सौर्य एयरलाइन्सका प्राविधिक हुन् । जहाज मर्मतका लागि पोखरा जानुपर्ने भएपछि उनी टीममा परेका थिए । केही दिन बस्न पाइने भएपछि शर्मा पोखरा घुम्न उत्साहित थिए । यसपछि उनले श्रीमती प्रिजा र छोरा अधिराजलाई पनि सँगै पोखरा लैजान खोजेका थिए ।

प्रिजा नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग सचिव एवम् पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने जीवितै उद्धार गरिएका पाइलट मनीषरत्न शाक्यको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस