जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, ११ : २२
जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनामध्ये ७ जनाको पोष्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको हो । शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपालकुमार चौधरीका अनुसार आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने छ ।

शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भएको बताए । उनले एउटा शव पोष्टमार्टमका लागि चारघण्टा समय लाग्नेसमेत बताए । डा. चौधरीले त्रिवि शिक्षण अस्पतालको मात्रै जनशक्तिले अपुग हुने भएकाले पाटन र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको बताए ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस