लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १४ : ४४
लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ, बाँके, चितवन लगायतका जिल्लाबाट १६ जना पक्राउ परेका हुन्।

मोरङको विराटनगर महानगरपालिका–१६ दरैया चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–५ बाँसबारी बस्ने २५ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय उज्वल सापकोटा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेमा पनि लागु औषधसहित अर्का एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका– १५ जमुनाह भन्सार चेक प्वाइन्टस्थित सडकबाट ब्राउनसुगर ४ सय मिलिग्राम, ट्रामाडोल ३८ ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेटसहित कोहलपुर नगरपालिका–२ मनकामना चोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट ब्राउनसुगर ३ ग्राम ८ सय मिलिग्राम सहित जानकी गाउँपालिका–६ बस्ने २६ वर्षीय चेतमान सोनी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको संयुक्त टोलीले भे.३ प २५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चेतमानलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, बर्दियाको बढैयाताल गाउँपालिका ६ रानीपुरस्थित सडकबाट ब्राउनसुगर १ सय २० मिलिग्रामसहित सोही गाउँपालिका–५ जगतिया बस्ने २ जना १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने ४७ वर्षीय सोमबहादुर विकलाई २ किलो ४ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता, कैलालीकाे टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट खैरो हेरोइन २ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने २५ वर्षीय सुमन थारू र १९ वर्षीय यमबहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले से.६ प ९१२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका– १६ फुलवारी टोल बस्ने ६५ वर्षीय आसिद मिया र ४२ वर्षीया कायमा खातुन लागुऔषध चरेश ८ किलो २ सय ३७ ग्रामसहित राति पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी मिया र खातुनलाई पक्राउ गरेको हो । 

उता, झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कबाट ब्राउनसुगर  ३ ग्राम ५ सय मिलिग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका–१ घर बताउने २८ वर्षीय धनबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा गाउँपालिका–४ स्थित सडकबाट  ब्राउनसुगर ५ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–१ बस्ने २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले चर्तागाछिबाट सुरूङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचीनगर नगरपालिका–१० धाईजन ढाटबाट  ब्राउनसुगर १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरूङ रहेका छन् ।लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस