दुई छोरीलाई विष खुवाएको आशङ्का गरिएकी महिला पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, ११ : २१
दुई छोरीलाई विष खुवाएको आशङ्का गरिएकी महिला पक्राउ

विराटनगर । दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी  अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले बुधबार बिहान फेला झापा विर्थाकमेडबाट पक्राउ गरिएको हो ।

घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ ।

अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो ।  आमा भने भेटिएकी थिइनन् ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए ।

निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले छाेरीलाई विष खुवाएर  हत्या गरेको निष्कर्ष निकालेको छ । 

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भईनसकेको प्रहरीले जनाएको छ । दुवै बालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । 

केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । बालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।डीएसपी बस्नेतले अस्वास्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस