एकै नम्बरका पाँचवटा मोटरसाईकलसहित २ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, ०६ : ५४
एकै नम्बरका पाँचवटा मोटरसाईकलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ ।

पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्‍वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोहि नम्बरको अर्को पनि मोटरसाईकल छ भन्ने पत्ता लागेको हो । मोटरसाईकलको खोजतलासमा निस्केको टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल सहित नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

थप अनुसन्धान गर्दै जाँदा करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी१५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको हो । अनुसन्धान गर्दै जाँदा बास्तबिक नम्बर बा.प्र.०२-०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निबेदन दिएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस